हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो


     एभरेस्ट आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित




हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बुधबारबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४ सय १३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा १९ असारमा हुनेछ भने ढिलोमा २९ असारमा हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका संपूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।