विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल शुरु


     एभरेस्ट आवाज    
     असार २० गते २०७९ मा प्रकाशित




पोखरा । बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल शुरु भएको छ । सत्तारुढ दलहरुबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि शुरु भएको हो ।

यसअघि असार १ आएको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नपरेको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट थियो । गठबन्धन दलहरुको निर्णय र मन्त्री परिषद बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनका बाबजुद अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखेका थिएनन् ।

अर्थमन्त्री बरालले मुख्यमन्त्री र मन्त्री परिषदलाई नटेरेका कांग्रेसको आरोप थियो । वेष्ट मिनिष्टर प्रणालीमा मुख्यमन्त्रीको निर्देशन मन्त्रीहरुले मान्नैपर्ने उसको भनाई छ । सोहि अडान अनुरुप उसले अर्थमन्त्रीलाई कुनै न कुनै हिसाबबाट सो कार्यक्रम राख्न लगातार दवाब बढाउँदै लग्यो । यसमा अर्थमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रलेपनि सपोर्ट गर्दै आएको छ ।

तर अर्थमन्त्री बराल भने जनताले नरुचाएको तथा नीति तथा कार्यक्रममापनि नभएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नराखेको तर्क गरे । त्यसपछि शुरु भएको विवाद प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मपनि कुरा पुग्यो ।

अहिले आएर भने विवाद समाधानतर्फ उन्मुख भएको छ । सत्तारुढ पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँगै मुख्यमन्त्री पोखरेलको दवाब थेग्न नसकेपछि घुमाउरो बाटोबाट सांसदलाई बजेट दिन अर्थमन्त्री सहमत भएसँगै सोमबारदेखि बजेटमाथिको छलफल शुरु गरिएको मुख्यमन्त्री निकट श्रोतले बताएको छ । ‘हाम्रो मागपनि पूरा गर्नेगरी बजेटमा नराखिएको उक्त कार्यक्रम जस्ताकोतस्तै नराखेपनि घुमाउरो बाटोबाट राख्ने सहमति भएको छ’–श्रोतले भन्यो । उनले अब निकास निस्केकाले बजेटमाथिको छलफल निरन्तर राखेर पारित गर्ने सहमति भएको बताए ।

लगत्तै सोमबार शुरु भएको बैठकको शुरुमै अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटको प्राथमिकता र सिद्धान्तलाई टेकेर नीति तथा कार्यक्रम आएको र त्यसलाई सम्बोधन गरेर बजेट आएको बताए । उनले बजेटमाथि गम्भीर छलफल गरी प्रदेशलाई समृद्ध बनाउनका लागि उचित सुझावहरु आउने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।