पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित




म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरास्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन्।

जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दूरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालू आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ।

यसअघि, बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो। गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यटन कार्यक्रममार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताएका छन्। गतवर्ष पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो। सोही स्थलमा ‘हरियाली–पार्क’को निर्माण पनि भएको छ।

गण्डकी प्रदेश सरकारले अघि सारेको शहरी वन प्रवद्र्धन तथा उद्यानपार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो। लभ्लीहिलमा प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत हरियाली पार्क निर्माणको काम संचालन गरिएको थियो।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समिति खबरालाई छनोट गरी सो समूहमार्फत हरियालीपार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले बताएको छ। लभ्लीहिल क्षेत्रको कुल ३० मिटर लम्बाई र १५ मिटर चौडाईको जमीनमा बनाइएको पार्कभित्र धुपी, मसालासहित सुगन्धयुक्त फलफूलका बिरुवा रोपिएको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पार्कका लागि आवश्यक जग्गालाई घेराबार गरी त्यसैभित्र बिरुवा रोपिएको छ भने लभ्लीहिल क्षेत्रमा पनि विभिन्न किसिमका बोटबिरुवा लगाइएको छ। हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गतवर्ष २ वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो। शहरी वन प्रवद्र्धन तथा उद्यानपार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गतवर्ष ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

कार्यक्रमबाट ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन समूह र पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वनमा पार्क निर्माण गरिएको छ। मंगलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख र पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयको भनाइ छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।