राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) देखि साधारण शेयर (आइपीओ) निष्कासन तथा विक्री खुला गर्दैछ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो।
कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपीओमा आवेदन दिने समय साउन १ गतेसम्म रहेको छ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुनेछ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बी रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह–निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी संपूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। साउन १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य भइरहेको कम्पनीले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७७÷७८ सम्म कम्पनी २ करोड २ लाख रुपैयाँभन्दा बढी संचित नाफामा छ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव २६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३५ रुपैयाँ छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






