गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित


     एभरेस्ट आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशको बजेट पारित भएको छ । असार १ गते प्रस्तुत बजेटलाई विहीबार बसेको गण्डकी प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्न निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले समर्थन जनाएपछि बजेट बहुमतले पारित गरेको हो ।

गण्डकी सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार विनियोजन गरिएको छ ।

यसअघि नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो । उनले राखेको प्रस्तावको विपक्षमा बहुमत पुगेकाले सभामुख नेत्रनाथ अधिकारीले खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

वित्त आयोगले १२ प्रतिशत भन्दा बढी ऋण नलिन दिएको निर्देशन पालना नगरेको, मुख्यमन्त्री र मन्त्रीहरुको मातापिताको नाममा छुट्याइएको बजेटलगायतका कारण बजेट धेरै भएको भन्दै एमाले प्रमुख सचेतक अधिकारीले खर्च कटौति गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा एमाले सांसदहरुले समर्थन जनाएपनि बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो ।

बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट आवश्यक्ताको सिद्धान्तका आधारमा बनाइएको जिकीर गरे । विपक्षी र सत्तारुढ गठबन्धनकै दलहरुका सांसदहरुलेपनि टुक्रे बजेट हालेकोप्रति आलोचना गरेपछि जवाफ दिदै उनले भने,‘ भौगोलिक विकटता, छरिएको बस्ती, विशिष्ट परिस्थितिका कारण टुक्रे योजना हाल्न बाध्य भएका हौं । यसमा बजेट आवश्यक्ताको सिद्धान्त र प्रदेश सरकारको जिम्मेवारी भित्रै परेकालेपनि यस्तो भएको हो’–उनले भने ।

मुख्यमन्त्री पोखरेलले कतिपय महत्वपूर्ण र गौरवका आयोजना छुटेकोपनि स्पष्टिकरण दिए । उनले भने,‘श्रोतको सिमितताका कारण अपेक्षित विकास कार्यक्रम राख्न सकिएन । तर अधुरा र क्रमागत योजनालाई प्राथमिकतामा राखेर बजेट हालिनेछ ।’
यसअघि विभागीय मन्त्रीहरुले सम्बन्धित मन्त्रालयबारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए । संसदमा बोल्दै अर्थमन्त्री रामजीप्रसाद बरालले वैज्ञानिक ढंगबाट बजेटको बाँडफाँट गर्ने प्रयास गरिएको बताए ।

यद्यपी गठबन्धन सरकार भएकाले सोंचेजस्तो बजेट ल्याउन नसकिएको स्वीकारे । उनले बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सघाउनेगरी नै ल्याएको जिकीर गरे ।

त्यस्तै, विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले सरकारको कामकारवाही प्रभावकारी नहुँदा संघीयतामाथि प्रश्न उठेको बताएका थिए । उनले संघीयता माथि प्रश्न उठाउनेहरुलाई प्रभावकारी काम गरेर देखाउन प्रदेश सरकारलाई सुझाव दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।