सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड


     एभरेस्ट आवाज    
     असार ३२ गते २०७९ मा प्रकाशित




पोखरा । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन ।

पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताइन् ।

सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्नेखालका गतिविधिमा लाग्नु पर्ने बताउँदै उनले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्ने आवश्यकता औल्याइन् ।

कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमवाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गरिन् । सहकारी संस्था बीच स्वच्छ प्रतिस्पर्दा एवम् पारदर्शितमा उनको जोड थियो ।

कार्यक्रममा संस्थाका शेयर सदस्य पोखरा १७ को वडाअध्यक्ष र वसुन्धरा लामिछाने पोखरा ७ को वडासदस्यमा निर्वाचित हुनु भएकोमा उनीहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।

सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारद्वय विष्णुबहादुर द्वारे र डिवी भुजेल,उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुम बहादुर जि.सी., शिक्षा उपसमितिका संयोजक रमेश ढुङ्गाना,सचिव गणेश श्रेष्ठ लगायतले सहकारीले गर्दै आएका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराएका थिए । पाँच सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको आठ करोड भन्दा बढीको कारोवार रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।