फाइल तस्विर ।
तनहुँ । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो ।
कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र २०७८ बमोजिम राहत प्रदान गरिएको उनले बताए।
कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । उहाँका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ ।
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने प्रावधान थियो ।
आर्थिक राहत लिनका लागि १६९ जनाका परिवारले निवेदन दिए पनि अन्यको कागजात नमिलेका कारण राहत प्रदान गर्न नसकिएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए । तनहुँमा कोभिड–१९ बाट १६१ जनाको मृत्यु भएको छ । त्यसमध्ये ६४ महिला र ९७ पुरुष छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







