ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोडभन्दा बढी राजस्व सङ्कलन


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित




फाइल फोटो


नवलपुर । ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी बर्दघाट–सुस्तापूर्वजिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए । जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले बताए । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु ८४ लाख १५ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिए ।

त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए । चार हजार ४१४ हलुका सवारी साधन जीप, कार तथा भ्यान० चालकबाट रु २५ लाख ८३ हजार ५०० र एक हजार ७४३ ट्र्याक्टर चालकबाट रु ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८÷७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।