पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो।

गत आवमा कूल ५ अर्ब १० करोड १७ लाख २८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ४ अर्ब ८८ करोड ४ लाख ४१ हजार रुपैयाँ मात्र संकलन गरेको छ। संकलित राजस्व लक्ष्यको २२ करोड १२ लाख ८७ हजार रुपैयाँ न्यून हो।

कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन गरेपनि मूल्य अभिवृद्धि कर (मुअकर) र अन्तःशुल्क लक्ष्यअनुसार संकलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो।

कार्यालयले आयकर शीर्षकमा २ अर्ब ८४ करोड १ लाख २१ हजार रुपैयाँ संकलनको लक्ष्य राखेकामा ३ अर्ब ३ करोड ५६ लाख जम्मा भएको कार्यालयले बताएको छ। त्यो लक्ष्यको १०६ दशमलव ८८ प्रतिशत हो। यसैगरी, मुअकरमा १ अर्ब ५७ करोड १० लाख ७८ हजार रुपैयाँको लक्ष्य राखिएकामा १ अर्ब ३३ करोड ५५ लाख ४२ हजार रुपैयाँ संकलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताएका छन्।

कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ ६ करोड ३९ लाख ३४ हजार रुपैयाँ, ब्याजकर ३५ करोड ३५ लाख १६ हजार रुपैयाँ, अन्तःशुल्क १८ करोड ९७ लाख ५२ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर १६ लाख ४१ हजार रुपैयाँ र शिक्षा कर ४ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ।

कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व संकलन सन्तोषजनक नै रहेको बताएको छ। विगतको राजस्वको वार्षिक वृद्धिदरभन्दा कम भएपनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले बताएका छन्।

कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढिरहेको र होटल तथा पर्यटन क्षेत्र कोभिड अघिकै लयमा फर्किन नसक्दा त्यस क्षेत्रबाट जम्मा हुने मूल्यअभिवृद्धि करमा कमी आएको र सरकारी कार्यालयको पूँजीगत खर्च कम हुँदासमेत राजस्वको समग्र लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले बताएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।