वडाको नियम : जुवातास, धूम्रपान सेवन गरे जरिवाना


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

वडाका जनप्रतिनिधीहरूको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १ सय रुपैयाँ र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ,’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ।’

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताए। जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आय–आर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिइन्।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ। सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।