म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन्।
म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरूले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माण गरिरहेका छन्।
वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ।
मन्दिरको निर्माणसँगै, रङरोगन, मन्दिरसम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुंगा बिछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँटसम्म जाने पक्की पदमार्ग निर्माणलगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताएका छन्।
उनले आर्थिक वर्ष २०७८÷८९ मा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त चार लाख रुपैयाँ, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त २ लाख रुपैयाँ र बेनी नगरपालिकाको १ लाख ५० हजार रुपैयाँ गरी कुल ७ लाख ५० हजार रुपैयाँको लागतमा सो संरचना निर्माण गरिएको बताए।
त्यसका लागि स्थानीयले १ लाख रुपैयाँभन्दा बढीको श्रमदानसमेत गरेका छन्। विसं २०३८ मा बगरफाँटवासीले स्थापना गरेको सो मन्दिर विगत ३ वर्षदेखि पुनर्निर्माण भइरहेको छ। अघिल्लो २ आर्थिक वर्षहरूमा डिभिजन वन कार्यालय, बेनी नगरपालिकालगायत संघ संस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँटवासीले देश तथा विदेशमा संकलन गरेको करीब १५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको थियो।
बगरफाँटलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न दुर्गा भगवतीको मन्दिरलाई व्यवस्थित गरिएको बताइएको छ। करीब ३ रोपनी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ। यस मन्दिरमा असोज र चैतको अष्टमीमा बलिसहितको पूजा हुने गर्छ। साधारण पूजाआजाका लागि भने मन्दिर सधैं खुला नै रहन्छ।
मन्दिरको चारैतिर बत्ती राखेर झिलिमिली बनाइएको छ। बेनी–बरङ्जा सडकको छेउबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेददेखि नै राखिएका विभिन्न देवीदेवताको मूर्ति तथा साना मन्दिर थप आकर्षक देखिएका छन्।
मन्दिर परिसरमा अन्य संरचनासहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालू आर्थिक वर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाइ छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






