तनहुँमा थपिए ५ सय ७९ उद्योग


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




तनहुँमा एक वर्षमा ५ सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५ सय ७९ उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावारमा आधारित ३ सय २०, खनिजतर्फ १, पर्यटनतर्फ १, सेवातर्फ १ सय ३ र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५ सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको कार्यालय ढकालले बताए ।

‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पशुपालनतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता बढेको छ ।’

कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाई पालन, बाख्रा पालन, कुखुरा पालन, मौरीपालन, माछापालन, तरकारी खेती तर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख ५४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु १ अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ ।

थपिएका उद्योगमा १ हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये ५ सय ३४ महिला र ५ सय १ पुरुष छन् । उद्योगमा ८ सय ९ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख ३ हजार ४ सय राजश्व संकलन भएको छ ।

सोही अवधिमा ३ सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । ४ उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०७८/७८ मा जिल्लामा २ हजार १ उद्योग दर्ता भएको थियो । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा रु २ अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा ३ हजार ५ सय १५ उद्योग थपिएको थियो । ती उद्योगमा रु १ अर्ब ८९ करोड ५२ लाख ६० हजार ६ सय ५९ लगानी भएको थियो ।

रु १ लाखसम्म पुँजी भएको उद्योगले रु १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु ३ हजार १ सय, रु ५ लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १ सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १ सय, रु १ करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १ सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १ सय र रु ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार १ सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।