साउनको तेस्रो सोमबार, बोलबम मनाइँदै


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




आज, साउन महिनाको तेस्रो सोमबार बोलबम मनाइँदैछ ।

देशका शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

पोखराको केदारेश्वर मन्दिरसहित काठमाण्डौंको पशुपतिनाथ, चितवनको देवघाट क्षेत्र, पूर्वको हलेसीलगायतका शिव मन्दिरहरुमा बोलबम मेला लाग्ने गर्दछ । शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लाग्ने गर्दछ ।

पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा भक्तजनहरुले शिवको पूजा आराधना र जल चढाउने गर्दछन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु ीशवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका हुन्छन् ।

केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गर्दछ । ‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ शुरू गरिएको बोलबम यात्रा गाईघाटबाट शुरू भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुग्ने गर्दछ ।

गेरुबस्त्र धारण गरेका ¥यालीका सहभागीहरुले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गर्दछन् । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् ।

साउनको महीनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् । यसो गर्दा, मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।