तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ ।
समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए ।
उक्त समयपश्चात् इच्छुक पर्यटकहरुले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ । केबुलकार भित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए।
अघिल्लो दसैदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनको भनाई छ ।
एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ ।
यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले केबुलकारसँगै आइपिओ सुरु गर्ने जनाएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए ।
शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर वितरण गरेको छ ।
उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







