बागलुङ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए।
सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्फ पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।
विसं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उहाँले जानकारी दिए । कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् ।
मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिकरुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै रु १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ ।
सो आम्दानीबाट रु नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रमलगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ ।
कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराउनुभएको थियो । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







