क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाखसम्म तलब हुने भन्दै पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुम पूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौँको नयाँ बानेश्वर बुद्धनगरबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले एक करोड १९ लाख जरिवना र २४ दिन कैदका साथै सन्तोषलाई दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाय ठहर गरेको छ ।

पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।