बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित




म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ।

यसअघि, नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो। बेनी नगरपालिकामा १० ओटा वडा छन्। सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गभर्नेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए।

‘सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौं,’ उनले भने, ‘हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ।’

यसअघि, ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो। सफ्टवेयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो। वडा कार्यालयमा सफ्टवेयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु परेको छैन। यस्तै अनियमितता र अपारदर्शिता हटेको छ भने सेवा प्रवाह छिटो भएको छ।

जिल्लाको रघुगंगा गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शिता कायम गर्न प्रभावकारी बनेको छ। यसैगरी, योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवेयर प्रयोगमा ल्याइएको छ। विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औंठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि ईमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालिएको छ।

विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै वर्षदेखि थालिएको थियो। सेवाग्राहीको औंठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिशका लागि ईमेलमा निवेदन पठाउने र ईमेलबाटै सिफारिश उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

नगरपालिका र वडाको सिफारिश, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ। प्राविधिकलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रू. पाँच लाखसम्म बजेट विनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडासचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताए। नगरको सवै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ। विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ। वडासचिवहरूलाई गत हप्ता अनलाइन राजस्व सूचना प्रणालीका विषयमा तालिम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।