थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित





काठमाडौँ । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ । सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।

यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष आइसियुमा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।