विकट गाउँमा स्वास्थ्यको सहज पहुँच


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित





बागलुङ । बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी भए पनि त्यहाँ सामान्य औषधि पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीयवासी बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे ।

अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे । अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलाको तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् । स्थानीयवासी पनि धामी झाँक्री खोज्न छोडेर स्वास्थ्य संस्थामै पुग्न थालेका छन् ।

अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेकाले स्थानीयवासीसमेत खुसी भएका छन् । साविकका तमान, बोङ्गादोभान र खुङ्खानी गाविस मिलेर बनेको तमानखोलामा पहिले तीन स्वास्थ्य चौकी भए पनि स्थानीयवासीले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको चन्द्रमालाले बताए। उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा ज्वरोको लागि पनि घण्टौँ लगाएर डोकोमा बोकेरै बुर्तिबाङ पु¥याउन लाग्दा कतिपयको बाटेमै मृत्यु हुने गरेको जानकारी दिए ।

वडा नं ५ का मीनबहादुर सिर्पालीले गाउँमा स्वास्थ्य संस्था खुलेपछि आफूलाई उपचार गर्न निकै सहज भएको बताए । उनले सामान्य चोटपटक लाग्यो भने उपचारका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान जानुपर्ने समस्या हटेको र नजिकमा अस्पताल नहुँदा वर्षौँ दुःख पाए पनि अहिले सहज भएको बताए ।

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले आधा घण्टामै आउन सक्छन् । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ भने वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका हुनुभन्दा पहिले वडा नम्बर १ को बोङ्गादोभान, वडा नम्बर ३ को तमान र वडा नम्बर ५ को खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य एकाइ र प्राथमिक स्वास्थ्य एकाइ स्थापना नगर्दासम्म तमानखोलावासीले यी तीन स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनुपर्ने अवस्था थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आफूले पहिलो कार्यकालको सुरुदेखि नै स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको भन्दै अहिले विस्तारै सुधारोन्मुख अवस्थामा रहेको बताए । उनले दुर्गमको गाउँपालिका भएको हुँदा नागरिकलाई शिक्षित र स्वस्थ राख्नका लागि ती क्षेत्रमा बढी लगानी गरिएकाले अहिले यी क्षेत्रमा सुधार हुँदै गएको बताए ।

उनले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै अब कोही पनि सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको बताए ।

अध्यक्ष बुढामगरले आफू आउनु अघिको अवस्था स्मरण गर्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मृत्युको मुखमा पुग्न नपर्ने बताए । गाउँपालिकामा पाँच श्ययाको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण हुने भएको छ । त्यसका लागि जग्गा व्यवस्थापन भइरहेको अध्यक्ष बुढा मगरको भनाइ थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।