कहां गए ति दिन हरु……


     बिश्व सिग्देल    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




शोभा भगवतीको मन्दिर कटेर अजंगको पिपलको चौतारो पार गरेपछि कोठेसाउं(सांघु) तर्न झण्डै पचास वटा सिंढी झर्नु पर्थ्यो ।पिंधमा सालका जब्बर मुढा र माथि बांसको छेकबार भएको कोठेसाउं तरे पछि पहरोमा अड्याईएको हनुमानको मुर्ती पार गर्ने बित्तिकै त्यो बेलाको प्रख्यात साउंमुख बजार प्रारम्भ हुन्थ्यो । त्यही साउंमुख पोखरा प्रबेशको पनि मुख थियो ।साउंमुखदेखि बिन्ध्यबासिनी नजिकको धोबिगौंडा र नालामुखदेखि बगाले टोलसम्मको बजारलाई मात्र “पोखरा” भनिन्थ्यो ।बा आमाहरु त्यही बजार लत्ता कपडा अड्कोपड्को किनमेल गर्न जानुलाई पोखरा जाने भन्थे । अड्डा अदालत,गोश्वारा,थाना जेल, बडा हाकिमको दरबार लगायत चित्राले बेरेर बनाइएको सिनेमा घर समेत त्यही पोखरा भित्र सिमित थियो ।बांकी उपत्यकामा नितान्त ग्रामीण बस्तिहरु थिए ।पछि कांग्रेस नेता धिरबहादुर गुरुङले बनाएको आधुनिक सिनेमा घर (कल्पना सिनेमा) सायद त्यही चित्राको सिनेमा हलको आधुनिक रुप थियो ।

त्यसरी पोखरा जाने अघिल्लो दिनदेखिनै आमाले पोखराबाट जुल्फी ल्याइ दिने र हामी ज्ञानी भएर घर कुरेर बस्ने ,बारीमा छाडा गाइबस्तु पस्न नदिने ,एक डोको घांस समेत काटे अझ थप नरिबल, मिश्रीसमेत दिने लोभ देखाइन्थ्यो । कमिज कट्टु पाउन त दशैं नै कुर्नु पर्थ्यो ,जुत्ता मोजा त हाम्रो कल्पना भन्दा बाहिरको बस्तु थियो।

जनै पुर्णिमापछि पोखरामा जात्राहरुको श्रृंखलानै उधुमसंग चल्थ्यो ।धान गोडी सकेको र कोदो रोप्दा अर्दा बर्षाद पनि करिब करिब निख्रिइ सकेको हुन्थ्यो, गाउलेहरु फुर्सदमा हुन्थे भने चाडपर्बहरुको प्रारम्भ पनि भैरहेको हुंदा किनमेल गर्न बजार पनि झर्न थाल्थे ।पोखराका व्यापारी व्यवसायीहरु शुद्ध व्यापारी व्यवसायीहरु मात्र नभएर आधि किसानहरु समेत थिए । दुबै पेशा कुशलतासाथ निर्बाह गर्थे ।यसैकारण ग्रामिण किसानहरुको मनोबिज्ञान जीबन शैली सजिलैसंग बुझ्दथे ,तालमेल राख्दथे ।

यही छेको पारेर पोखराका ब्यापारी नेवार समुदायहरुले ग्राहकहरुलाइ सहर बोलाउन अड्याउन पनि मेला जात्राहरुको आयोजना गर्थे ।मेला जात्राहरु व्यापारिक प्रयोजन मात्र नभएर उनीहरुको संस्कृतिको बिशेष र अभिन्न अंग भएको यथार्थ भने भुल्नु हुंदैन ।लाखे जात्रा ,बाघजात्रा, गाईजात्रा, भैरबजात्रा, गणेश जात्रा ,कृष्ण जात्रा यस्ता दर्जनौ सांस्कृतिक जात्राहरुले पोखरा बिछट्टै रमाइलो र रोमांञ्चकारी हुन्थ्यो । परिबार सहित पोखरा झर्ने ,लत्ता कपडा ,मरमसला तथा ग्रामीण उत्पादन कुटो,बाउसो फाली स्याखु, थुन्से, चित्रा, भकारीहरुको बिनिमय(किनमेल) नाचगान मनोरञ्जन सबै यही मौकामा फत्ते हुन्थे । लत्ता कपडाका हकमा ग्रामीणहरु प्राय एउटै ब्यापारी कहां सम्बन्ध राख्थे ।गाउंबाट झर्दा उनीहरु कुखुराका भाले ,स्थानीय तरकारीहरु कोसेली ल्याइदिन्थे भने ब्यापारीहरुले पनि उनीहरुको सुत्ने,पकाउने,खाने सामान र ठाउंहरु ग्राहकहरुको निमित्त घरमै अलगै ब्यबस्था गरिदिएका हुन्थे।व्यापारी र ग्रामीणहरुको सम्बन्ध बडो आत्मीय र साइनोसंग गांसिएको हुन्थ्यो। गाउं र सहर जोडने मितेरी साइनो जोडिएको हुन्थ्यो ।

तिजको रामघाट मेला ,ढुंगेसांउको माघे संक्रातीको मेला ,कोठेसाउंको ठुली एकादशीको फूल तार्ने मेला त्यतिखेरका प्रख्यात मेला थिए । चौमास भरी एक छाक शुद्ध खाएर पुजाआजामा बसेपछि ठुली एकादशीको दिन डोलीमा फूल प्रसाद, परलोकको जिबनमा आबश्यक सम्पूर्ण उपभोग्य बस्तु पैसा ,डोको,नाम्लो स्याखु ,मदुस आदिको लघु रुपहरु लठ्ठामा उनेर नदीको वारपार बाधिन्थ्यो भने बांकी नदीमा बिसर्जन गरिन्थ्यो ।गाउं गाउंबाट भक्तालुहरु खैंजडी,मुजुरा,बाजागाजा,भजन चुट्का सहित सांउमुखमा फूल तार्न जम्मा हुन्थे । यसलाइ तोरण तार्ने समेत भनिन्थ्यो ।चौमास भर बजारका प्राय सबै घरमा , गाउंमा अल्लि सम्भ्रान्तहरुका घरमा आकासदीपहरु बालिन्थे ।त्यो समयको सांझको दृश्य आकासका पुरै तारा मण्डल पृथ्वीको नजिकै झरेर झल्मलाएको जस्तो गज्जबको हुन्थ्यो ।

सांउमुख तर्ने बित्तिकै बाटो वारी र पारी सेल रोटी ,जुल्फी ,चिया, तरकारी,चिउराका पसलहरु हुन्थे ।आमाले सम्भबत दस पैसामा पाइन्थ्यो होला,एउटा जुल्फि किनि दिएर पछि पछि आउन भन्दै ठेलम्ठेल भिडमा अघि बढनु भयो ।एउटा हातमा जुल्फी लिएर टोक्दै अर्को हातले आमाको फरियाको फुर्को समातेर अघि बढें भनेको त म अर्कै महिलाको फरियाको फुर्को समात्न पुगेछु । भिडभाड कोलाहाल ठेलम्ठेलको बिच म र आमा छुट्टिएछौं।मेरोलागि त मानिसै मानिसको भिडमा समेत संसारै हराए जस्तो ,एक्लै भए जस्तो भयो ,कोलाहाल गरेर रुन थालें । हातको आधि जुल्फी मेरो निमित्त फिका भयो । तितो भयो । टर्रो भयो। उता आमा समेत ब्याकुल भएर खोज्दै भौंतारिदै आंउदा एउटा सज्जनले मलाइ फकाउंदै मेरो घर , बा को नाम सोद्धै थिए । त्यतिखेर पुरै उपत्यकामा एक अर्कोलाइ चिन्ने जान्ने त के गाईवस्तुहरु समेत फलानाको हो भनेर चिन्दथे । ति सज्जनले मेरो बालाई चिन्ने र घरमै पुर्याइ दिने बचन दिए पछि मेरो रुवाइ मत्थर भयो । तर घुक्क घुक्क भने थामिएको थिएन । बल्ल आमासंग भेट भयो,संसारै सामुन्ने जस्तो भयो ।आमाले पसिनाको गन्ध मिस्रित छिटको फरियाले आंसु पुछिदिनु भयो । टाउको सुम्सुम्याउनु भयो । अंगालोमा लिनु भयो मलाइ स्वर्ग पाए जस्तो भयो ।

बैदाम ,ढुंगेसाघु ,छिनेडांडा ,मझेरीपाटन, हेम्जा, बाटुलेचौर, भलाम, कुंडहरबाट सांघुमुख ,नालाकोमुख पुग्न कमसेकम पचासदेखि एक सय बर पिपलका चौतारा, पोखरी,र गौचरनहरु पार गरेर आउनु पर्थ्यो । सांघुमुखको माथिल्लो भाग अहिलेको महेन्द्रपुल चिप्लेढुंगा पुरै गौचरन थियो । ठुला ठुला चौतारा पोखरी र टाप्रे घारीयुक्त पाटनको आसपास बास्तोला,पराजुली, राणाहरुका पातला बस्ति थिए भने वारि एकसरो रानीपौवा बजार र बजार उत्तर चौतारी पोखरी सहित फूलबारी गाउंसम्म विशाल गौचरन थियो ।रानीपौवाबाट कांहूसम्म पुग्नेबाटो सेती किनारको फराकिलो बाटो समेत अहिले गायब भयो।

दशैंबाट पोखरामा चंगा उडाउन सुरु हुन्थ्यो । चंगाका सौखिनहरु सेती नदीको वारीपारी खाली चौरमा बसेर एक अर्काको चंगा काट्ने लक्ष सहित प्रतियोगितामा सामेल हुन्थे । पोखरामा हुने अधिकांश फुटवल प्रतियोगिता खेल यही फूलबारीको गौचरनमा हुन्थे ।त्यतिखेरका सेती पश्चिमको हिमाली टिम र पश्चिम तर्फको बिजय टिम प्रख्यात थिए ।खेल हुंदा पुरै पोखरेली खेलप्रेमीहरु आ-आफ्नो टिमलाइ हौस्याउन जम्मा हुन्थे । अन्त्यमा दुबै टिमका समर्थकहरु बिच मारपिट, हुलदंगा सामान्य हुन्थ्यो । शोभा भगबतीको मन्दिर नजिकको चौताराको पिपलको रुख र पारीपट्टिको बर पिपलको रुखका सहारामा ब्रतालुहरुले ल्याएका अभिमन्त्रित तोरणहरु बांधिन्थे ।यसरी बांधिएका सय्यौं रंगी बिरंगी तोरणहरुले सहरको रुपै बिशेष हुन्थ्यो।पुर्बको त्यो सांस्कृतिक र ऐतिहासिक चौतारो पहिले बाटो बिस्तारको भेट चड्यो भने ,त्यो ठाउं अहिले आधि सेना र आधि सडकको कब्जामा छ । यता पश्चिमको चौतारो हेर्दा हेर्दै कता गायब भयो पत्तै भएन ।

महानगरले यस ठाउंको यथा रुपलाइ पुनर्जिबित गर्ने,पुनस्थापित गर्ने अभियानमा अतिक्रमित संरचनाहरुलाइ हटाउन प्रारम्भ गरेपछि बरपिपल चौतारी हराए पनि चौतारी रहेको स्थान देखिएको छ । एक पटक यो गौरबमय सांस्कृतिक तोरण तार्ने ठुली एकादशी मेला ,र तोरण बांध्ने यि दुई चौताराहरुलाइ पुनर्जिबित गर्न सकिन्न र ? अवश्य सकिन्छ।

पश्चिम पट्टीको चौताराको तस्बिरले(तल पोस्ट गरिएको) बिगतका दिनहरुको सम्झना गरायो । रोमाञ्चित बनायो ।सुनिलभाइ(फोटो संकलक सुनिल उलक)को संग्रहको यो तस्विरले पुरानो बिरासतहरुको उत्खनन् र पुर्जिबनको आग्रह गर्दछ।हिजोको जस्तै पोखरा त असम्भब होला ,कम से कम झल्को आउने त बनाऔं। अस्तु ।

फोटो सौजन्य : सुनिल उलक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।