चिनियाँ राष्ट्रपति सि काजख्स्तान र उज्बेकिस्तान जाने


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




चीनका राष्ट्रपति सि चिनफिङ बुधबार काजख्स्तान र उज्बेकिस्तान भ्रमणमा जाने भएका छन् ।उज्बेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन एससीओ को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।

उनको दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र काजख्स्तानको कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उहाँले भ्रमणलाई महत्व दिनु भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । उनले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागीता जनाउने भएका छन् ।

सम्मेलनमा उज्बेकिस्तान, काजख्स्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शिर्ष नेताहरुको सहभागीता रहने जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।