झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ ।
भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । सीमा क्षेत्रका अस्पतालमा आँखाका बिरामी नेपालीभन्दा बढी भारतीय हुने उनीहरुको भनाइ छ ।
अधिकांश मोतियाविन्दुका बिरामी उपचारका लागि भारतबाट धाएर आउने गरेको काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटा बताउछन । उनका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए ।
मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउछन । संयोजक डालमिया अन्य रोगको उपचारका लागि भारत धाउने नेपाली धेरै भए पनि आँखाको उपचारमा भारतीय नागरिकलाई नेपालका अस्पतालले आकर्षण गर्न सकेकोमा खुशी व्यक्त गर्छन ।
भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उनको भनाइ छ । अघिल्लो आवमा कोभिडका कारण भारतीय बिरामी नपाउँदा यी आँखा अस्पताल प्रायः सुनसान नै बनेका थिए । यसैगरी काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको मेची नेत्रालयमा पनि उपचार गराउन आउने आँखाका बिरामीमध्ये ७० प्रतिशत भारतीय हुने गरेको अस्पतालकी प्रशासन प्रमुख पुनम प्रधान बताउछन ।
उक्त अस्पतालमा गत आव ४४ हजार छ सय २२ आँखाका बिरामीको उपचार भएकामा दुई हजार आठ सय २८ जनाको मोतियाविन्दु, रेटिनालगायतको शल्यक्रिया भएको उनले जानकारी दिए । प्रशासन प्रमुख प्रधानका अनुसार भारतका विभिन्न स्थानबाट आउने आँखाका बिरामी बच्चादेखि वृद्धसम्म हुने गरेका छन् तर धेरैजसो बिरामी भने ४१ वर्षमाथिका थिए ।
यसैगरी विगतमा उक्त अस्पतालमा बङ्गलादेशी पनि उपचारका लागि आएका थिए कोरोनाको महामारी पछि उनीहरु उपचारका लागि नआएको उनको भनाइ थियो । प्रायः काँकरभिट्टा क्षेत्रमा दुई किलोमिटर क्षेत्रको अन्तरालमा तीन ठूला आँखा अस्पताल रहेका छन् । यी अस्पताल भारतीय नागरिकलाई नै लक्ष्य गरेर सञ्चालनमा ल्याइएको काँकरभिट्टावासीको भनाइ छ ।
उपचार गर्न आउने भारतीय नागरिकका कारण काँकरभिट्टा आसपासका होटललाई फाइदा पुगेको छ । झापाको ठूलो व्यापारिक सहरको रुपमा चिनिएको विर्तामोड क्षेत्रमा पनि तीन ठूला आँखा अस्पताल छन् । मेची आँखा अस्पताल, दृष्टि र विर्तामोड आँखा अस्पतालका सेवाग्राही आधा जति भारतीय नागरिक नै हुने गरेका छन् ।
जिल्लामा सबैभन्दा पुरानो र ठूलो मेची आँखा अस्पताल हो । यो अस्पतालले स्थापनाको २६ वर्ष पार गरिसकेको छ । सो अवधिमा यो अस्पतालले तीन लाख ५० हजारभन्दा बढीलाई सेवा दिइसकेको छ । तीमध्ये झण्डै ५० प्रतिशत विरामी भारतीय नागरिक नै रहेको अस्पताल प्रशासनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







