ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघको माग


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित




बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ ।

कोभिड–१९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनाएका छन् । बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ ।

ब्याजदर वृद्धिले मुद्रास्फीतिमा समेत चाप पर्ने भन्दै संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग गरेको छ ।

ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधरण समेत महंगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने जनाउँदै संघले राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम गरेको उल्लेख गरेको छ ।

‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्ने छ,’ अध्यक्ष सुवेदीले भनेका छन्, ‘अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।