थप अधिकारका लागि महिलाहरु नै संगठित हुनुपर्दछः उपसभामुख शर्मा


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संवैधानिक अधिकारको अधिकतम उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु नै लाग्नुपर्ने बताएका छन्।

महिला मात्र सेयर सदस्य रहेको सिद्धि विनायक महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ साधारणसभाको उद्घाटन गर्दै शर्माले अधिकार प्राप्तिका लागि महिलाहरु संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

सहकारीको माध्यमबाट महिलाहरु नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्नेमा जोड शर्माको जोड थियो। शर्माले उत्पादित वस्तुको बजारीकरणमा ३ वटै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन्।

‘निर्वाचनमा गठबन्धन हुँदा महिलाका हकअधिकार खोसिन हुनुहुँदैन,’ शर्माले भनिन्, ‘महिलाको मर्म र भावनना महिलाले नै बुझ्ने भएकाले आगामी मंसीर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा महिला उम्मेदवारलाई विजयी गराउनु पर्दछ।’

निवर्तमान गण्डकी प्रदेश सभा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष प्रभा कोइरालाले सहकारीले समाजका विपन्न एवं असहाय वर्गको उत्थानका लागि सीपको आधारमा लगानी गर्दै आएको बताइन्।

कुल १६० सेयर सदस्य रहेको सो संस्थाले एक दर्जन बढी सदस्यलाई कुखुरापालन, गुडिया बनाउने, अचार बनाउने, सिलाई कटाईलगायतका बिभिन्न व्यवसाय गर्न लगानी गरेको सचिव इन्दिरा पौडेलले जानकारी दिइन्।

संस्थाका अध्यक्ष भगवती कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र कोइरालाले सहकारीको महत्व र आवश्यकतामाथि चर्चा–परिचर्चा गरे।

अध्यक्ष भगवती कोइरालाले अध्यक्षको प्रतिवेदन र सचिव इन्दिरा पौडेलले आर्थिक प्रतिवेदन तथा कोषाध्यक्ष इन्द्रकुमारी अधिकारीले आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।