गलकोट । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् ।
उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७८÷७९ मा सहकारीमार्फत दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा दीर्घकालीन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् ।
दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले बताए । उनी सृजना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालकसमेत छन ।
काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक तीन सय दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बालानन्द कँडेलले जानकारी दिए । चौध वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु छ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । चौध सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै रु छ करोडभन्दा बढी रकम आम्दानी गरेका हुन् ।
गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् ।
सहकारी २०५७ सालमा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनाउनाका साथै १९ कर्मचारीलाई प्रत्यक्ष रोजगारीसमेत दिँदै आएको छ । दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दूधजन्य पदार्थहरु जस्तै घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए ।
उनीका अनुसार सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै किसानलाई रु छ करोड ११ लाख दूध खरिद बापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घले समेत रु ७४ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने सहकारी सङ्घले जनाएको छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झन्डै एक हजार पाँच सय किसानले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । तीमध्ये काठमाडौँमा छुर्पी निर्यात हुँदै आएका दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिए ।
आर्थिक वर्ष २०७८÷७९ मा मात्रै रु पाँच लाख बराबरको छुर्पी काठमाडाँै निर्यात गरिएको छ । सहकारीले एक वर्षमा ८५ लाखको दही, आठ लाख ७८ हजारको घीउ, सात लाख १८ हजारको पनिरसमेत बिक्री गरेको छ । बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रुपमा परिचय दिने गरी सहकारीले छुर्पी उत्पादनमा बढी जोड दिन थालेको छ ।
अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकेजी एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानहरुले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताए ।
सहकारीको उपयुक्त मोडेलका रुपमा दुग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसीले बताए । कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको उनको भनाइ थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







