राष्ट्रिय खेलकुद: आर्चरीमा गण्डकी अग्रस्थानमा, ४ स्वर्ण


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




राष्ट्रिय खेलकुद: आर्चरीमा गण्डकी अग्रस्थानमा, ४ स्वर्ण

गण्डकी प्रदेशले आर्चरीमा ४ स्वर्ण जितेको छ।
विभागीय टोली नेपाल आर्मीले २ स्वर्ण जित्दा सशस्त्र प्रहरीले १ स्वर्ण जितेको छ।

आर्चरीको ३ विधामा कूल १३ स्वर्णमध्ये मंगलबार ७ स्वर्ण पदकको छिनोफानो भएको हो।

गण्डकीले थप २ वटा रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो। आर्मीले थप ४ कास्य पदक प्राप्त गरेको छ। एपीएफले १ रजत, २ कास्य जित्यो। यस्तै, नेपाल पुलिस १ रजत, १ कास्यमा सीमित रहँदा प्रदेश–१ ले १ रजत र सुदुर पश्चिमले १ रजत जित्यो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो। नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो।

रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो ३ सेटमा जित्यो। असिम शेरचन, गंगा कुँवर, देउ रोक्का, रुद्र रानामगरको समूहले ३–० स्कोरले जितेको हो। तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई जित्यो।

रिकर्भ मिक्स टिमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापामगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो। ४–२ स्कोरको अवस्थामा निकै प्रतिस्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन्। आर्मीले प्रदेश–१ लाई हराउँदै कास्य जित्यो।

कम्पाउण्ड मेन टिमतर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो। योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षत्री, युवराज लामासम्मिलित टिमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो। आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो।

स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश–१ लाई ६–० को सोझो ३ सेटमा हराएको हो। आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्गकुमारी थापामगर र तुलसी थापा मैदान उत्रेका थिए। यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित बन्यो। गण्डकीका तर्फबाट अनुस्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए।

स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो ३ सेटमा हराएको हो। आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्तीमगर र अनुस्का शेरचन खेलेका थिए। एपीएफले प्रदेश–१ लाई हराउँदै कास्य जित्यो।
कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो। सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो।

स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सुदूरपश्चिमलाई सोझो ३ सेटमा हरायो। गण्डकी टिममा दुर्गा घर्तीमगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए। नेपाल पुलिसले प्रदेश–१ लाई हराउँदै कास्य जित्यो। अन्तिम दिन बुधबार ६ वटा स्वर्णका लागि खेल हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।