पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ।
पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ।
यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पुर्याउने लक्ष्य पनि राखेको छ।
सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पुर्याउने र ऋण रकम पनि ४ करोड ६० लाख पुर्याउने लक्ष्य राखिएको बताए।
हाल १०७ जना शेयर सदस्य संख्या रहेकोमा यसलाई वृद्धि गरी चालु आर्थिक वर्षमा २ सय पुर्याउने लक्ष्य पनि उनले सुनाए।
‘अघिल्लो आर्थिक वर्षमा ६ महिनामात्र सेवा संचालन भयो। तर, अब संस्थामा बचत, ऋण लगायत विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ,’ अध्यक्ष देवकोटाले भने– ‘रेमिटेन्स सेवा तत्काल सुरु गरिने, मानशा कल्याणकारी कोष स्थापना गरी शेयर सदस्यहरुका सामाजिक तथा आर्थिक हितका कार्यक्रम संचालन गर्ने, टपरी उद्योग चलाउने, कृषि तथा पशुपालनलाई परियोजनामार्फत् अघि बढाउने हाम्रो योजना छ।’
कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले वडामा कार्यक्षेत्र बनाएका दर्जन जति बहुउद्देश्यीय सहकारी रहेकाले यी सबै सहकारीको प्रतिनिधित्व हुने गरी समिति बनाएर वडाबासीको हितमा विभिन्न उत्पादनमूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिन्।
‘कृषि उत्पादन तथा संकलन केन्द्र, महिलाको उद्यमशीलता, दुग्ध संकलन केन्द्र संचालन, बजारीकरण गर्न सहकारीहरु अग्रसर भएमा स्थानीय सरकारले सहयोग गर्नेछ। बहुउद्देश्यीय सहकारीहरुले स्थानीय क्षेत्रमा केही गर्न र समृद्धिको यात्रामा सँगै अघि बढ्न सकोस् भन्ने आग्रह गर्दछु। हाम्रो सहयोग हुनेछ,’ वडाध्यक्ष योगीले भनिन्।
पोखरा महानगरपालिका सहकारी विभागका रजिष्ट्रार भरतराज पौडेलले सहकारी अभियानमा चुनौति थपिएको बताए। सहकारी संचालकहरुले गंभीर भएर संस्था चलाउन आग्रह गरे।
‘लगानी गर्दा सुरक्षामा ध्यान दिनुपर्यो। ऋण असुली, बचत फिर्ताको समयको लेखाजोखा गरेर लगानी गर्नुपर्छ। नत्र, बचत फिर्ता गर्न सकिएन भने संस्था डुब्छ। सहकारी अभियानमा असर पुग्छ,’ पौडेलले भने, ‘सदस्यहरु पनि चिनेजति सबै सहकारीमा सदस्य बन्ने, ऋण लिनु पनि छैन, बचत गर्नु पनि छैन। चिनेका संचालक सदस्यले भनेकै भरमा शेयर लियो। बोनस पाए लियो, गयो। यसरी हुँदैन। संस्था कसरी चलिरहेको छ। गहिरिएर बुझ्न म आग्रह गर्दछु।’
सहकारीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य रामप्रसाद कँडेल, मयुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्का, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव मोहनप्रसाद अधिकारीलगायतले संस्थालाई शुभकामना दिएका थिए।
कार्यक्रममा कोषाध्यक्ष सञ्जय पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विशाल सुवेदीको लेखासमितिको प्रतिवेदनलाई बन्दसत्रमा पारित गरिएको थियो। कार्यक्रमको संचालन सचिव प्रकाश सुवेदीले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







