हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।
मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन शुरु भएसँगै मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटक बढेको मुक्तिनाथ विकास समितिले जनाएको छ।
मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने पर्यटक बढेसँगै मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरू भरिभराउ छन्।
वर्षको २ सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरूमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन्। मुक्तिनाथमा दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटकको संख्या बढेसँगै मुस्ताङका होटलहरूमा विदेशी र आन्तरिक पर्यटनहरूको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको बताए। सामान्य अवस्थाको तुलनामा दशैं तिहारपछि मुस्ताङका होटलहरूको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरू बताउँछन्।
इरिक इन होटलका संचालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटनहरूले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरू भरिएको बताए। उनले नेपाली र भारतीय पर्यटकले होटलहरू फुल अकुपेन्सी चलेको बताए।
उनले २ वर्ष कोभिडको मार र यो वर्ष दशैंपछि अविरल वर्षा र बाटोको समस्याको कारण अफ्ठ्यारो परेपनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए।
मुस्ताङ, मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका संचालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरूमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरूले कोठा भरिभराउ रहेको बताए। उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए। मुस्ताङको मुक्तिनाथ बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्राउन सकिने उनको भनाई छ।
मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ।
पर्यटकहरूको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ। मुस्ताङमा पर्यटन पूर्वाधार विकास र विस्तार तीव्र रूपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरूको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ।
मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताललगायतमा पर्यटक बढेका छन्। मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो।
पछिल्लो समय नेपालका सबै पर्यटकीय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ। अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन्। बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन्। सेप्टेम्बर महीनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







