जुकरबर्गले एकैपटक फेसबुकका ११,००० कर्मचारी कटौती गर्दै


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




विश्व चर्चित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप संचालन गरिरहेको मेटाले आफ्ना १३ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ।

कम्पनीले गर्न लागेको पहिलो तथा ऐतिहासिक कर्मचारी कटौतीमा ११ हजार जनाले जागिर गुमाउँदैछन्।

विश्वभरि यस कम्पनीअन्तर्गत ८७ हजार कर्मचारी कार्यरत छन्। मेटाका प्रमुख कार्यकारिणी अधिकारी मार्क जुकरबर्गले भनेका छन्, ‘यो कटौती मेटाको इतिहासमै हामीले अहिलेसम्म गरेकामध्ये सबैभन्दा कठिन परिवर्तन हो। मलाई थाहा छ यसले सबैलाई अप्ठ्यारो पार्नेछ। म विशेषगरी यस निर्णयको मारमा पर्नेहरूप्रति क्षमाप्रार्थी छु।’

ट्विटर र विश्वका अन्य प्राविधिक कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेपछि मेटाले पनि यो कदम उठाएको हो। ट्विटरले करिब ५० प्रतिशत कर्मचारी कटौती गरेको थियो।

जुकरबर्गले भनेका छन्, ‘कोरोना महामारीकोबेला बढेको राजस्वको आधारमा दिर्घकालीन आर्थिक वृद्धिको अपेक्षा गर्नु नै गल्ती भयो। धेरै मानिसले त्यसबेलाको प्रवेग स्थायी हुन्छ भन्ने भविष्यवाणी गरेका थिए। मैले पनि त्यही सोचेर हाम्रो लगानीलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने निर्णय गरेँ। तर बृहत आर्थिक मन्दी र बढ्दो प्रतिस्पर्धाको कारण राजस्व अपेक्षा गरिए भन्दा कम संकलन हुन पुग्यो। यो गल्ती मैले गरेँ र यसको जिम्मेवारी म लिन्छु।’

मेटाको व्यापक कर्मचारी कटौतीको घोषणा हुने पूर्व अनुमान गरिएको थियो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।