हवाई प्रदर्शन गरिरहेका दुई सैनिक विमान आपसमा ठोक्किएपछि…


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




अमेरिकाको टेक्सास राज्यको डल्लासमा हवाई प्रदर्शनीको क्रममा शनिबार दुईवटा सैनिक विमान आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्।

ती विमान विस्फोट हुँदा आकासमा आगोको डल्लो र कालो धुवाँको मुस्लो फैलिएको थियो। तर, विमानमा कति जना सवार थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।

सहरको मध्यभागदेखि करिब १० माइल टाढाको डल्लास विमानस्थलमा तत्कालै आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो। न्युज फुटेजमा विमानस्थल परिसरको घाँसे मैदानमा विमानस्थलका भग्नावशेष छरिएका देखिन्छन्। डल्लास अग्नि–उद्धार टोलीले दुर्घटनाका कारण जमिनमा रहेका अन्य कुनै पनि व्यक्ति घाइते नभएको दी डल्लास मर्निङ न्युजलाई बताएको छ।

हवाई प्रदर्शनी आयोजना गर्ने एक कम्पनीका अध्यक्ष ह्यान्क कोट्सले दुर्घटनामा पर्नेमा चारदेखि पाँचजना चालक दल बस्न मिल्ने बी–१७ फ्लाइङ फोट्रेस बम वर्षक विमान र एकजना पायलट मात्र बस्न सकिने पी–६३ किङकोब्रा लडाकु विमान रहेको जानकारी दिएका छन्।

आफ्नो एकजना साथीसँग सो कार्यक्रम हेर्न पुगेका तथा प्रत्यक्षदर्शी स्थानीय २७ वर्षीय एन्थोनी मोन्टायाले अचानक विभत्स रूपमा विमान दुर्घटना भएको देखेर त्यहाँ उपस्थित सबै स्तब्ध भएर रुन पुगेको बताएका छन्।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डका एक अनुसन्धान टोलीले यस घटनामाथि छानबिन गर्ने भएको छ।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।