म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाउदै


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाएको छ । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् ।

ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् ।

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकले सदरमुकामसम्म ल्याएर प्रतिकिलो रु ६० देखि ८० सम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताए ।

सापकोटाले भने, “प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकले राम्रै आम्दानी लिएका छौँ ।”

अगुवा कृषकका रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् ।

एउटा टनेल राख्न रु ३० देखि ४० हजारसम्म खर्च हुने गरेको उनले बताए । एउटा टनेलले एक सिजनमा रु ५०–६० हजारसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाइ हुने कृषक सापकोटको भनाइ छ ।

मानिसहरूमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ ।

पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका किसान रामहरि पौडेलले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।