कतार विश्वकप : बराबरी खेल्दै सर्विया र क्यामरुनले अंक बाँडे


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो ।

अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

खेलको ५३औँ मिनेटमा अलेक्ज्यान्दर मित्रोभिचले गोल गर्दा सर्बियाले ३–१ को अग्रता बढायो । तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरुनले ६६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औँ मिनेटमा चुपो मोटिङले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

यस समूहमा ब्राजिल र स्वीटजरल्यान्डको समान ३–३ अङ्क छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १–१ अङ्क बाँड्दै खाता खोलेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।