बम प्रहारमा तीनको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित




भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् ।

उनको घरमा नै बम विस्फोट गराइएको थियो । भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ ।

सो विस्फोटमा परेर उनी बाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ ।

सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ । प्रहरीले यसको अनुसन्धान सुरु भइसकेको तर उक्त विस्फोट र हत्याको कारण अहिले नै स्पष्ट नभएको जनाएको छ ।

तर भारतीय जनता पार्टीको पश्चिम बंगालका नेताले भने मन्नाको घरमा नै बम बनाइएको र बम बनाउने क्रममा विस्फोट भएर सो दुर्घटना भएको जनाएका छन् । उनले उक्त घटनाको अनुसन्धान गर्न पनि माग गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।