जिएमसीमा क्याथ ल्याव स्थापना, हृदय रोग उपचार केन्द्र सञ्चालन


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर २८

गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ । जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो । क्याथ ल्याव स्थापनासँगै जिएमसीमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गरे ।

पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना गरेर हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले बताए । उनले अब मुटु रोगसहित कुनैपनि उपचारका लागि काठमाडौं वा विदेश जान नपर्नेगरी जिएमसीले उपचार थालेको बताए ।

क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय रोग उपचार केन्द्रका प्रमुख डा.मधु रोकाले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई मेडिकल शिक्षाको हब बनाउनुपर्नेमा जोड दिए । उनले प्रदेशभरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताए । उनले सरुवा रोग तथा संक्रामक अस्पताललाई आधार मानेर गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सञ्चालनको तयारी थालिएकोपनि जानकारी गराए ।

कलेजका प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिए । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको उनले बताए । कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हँुदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।