विकासलाई रोजगारसँग जोड्दै कावासोती नगरपालिका


     एभरेस्ट आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित




कावासोती । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो ।

श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी रु १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिए । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उनले बताए ।

नगरपालिकाभित्रका १७ वटै वडामा श्रममूलक आयोजना छनोट गरिएको र त्यस्ता आयोजनामा नगरपालिकामा सूचीकृत बेरोजगार साथै उक्त आयोजनाका लागि सम्बन्धित वडामा कामदार सूचीकरणमा नाम दर्ता गरेकालाई रोजगार प्रदान गरिएको उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि कावासोती नगरपालिकामा आठ सय तीन जना सूचीकृत बेरोजगार रहेका छन् । उनीहरुलाई आवश्यक र क्षमता हेरी श्रममूलक आयोजनामा रोजगार प्रदान गरिएको छ ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत छनोट भएका श्रममूलक आयोजनाको कूल खर्चमा कम्तीमा ५० प्रतिशत श्रम तथा ज्यालामा खर्च गर्नुपर्ने रोजगार संयोजक सापकोटाले बताए ।

कोभिडसँगै धेरैले रोजगार गुमाएकाले सामान्यतया विकास निर्माणमा श्रममूलक रोजगारीको सिर्जना गर्दै त्यस्ता व्यक्तिको आर्थिक पुनरोत्थानका लागि यस प्रकारको आयोजना अघि बढाइएको उनले बताए । कावासोती नगरपालिकामा हाल छनोट भएका ८७ वटा आयोजनामा खोला तटबन्धन, नाला निर्माण, खानेपानीको पाइप लाइन विस्तार, सिँचाइ कुलो निर्माण, पार्क निर्माण, सार्वजनिक भवनमा पर्खाल निर्माणलगायत छन् ।

नगरपालिकाभित्रका विकास निर्माणका काम अघि बढाउँदै गर्दा रोजागरीसमेतसँगै सिर्जना होस् भनेर आफूहरुले यस्ता खालका आयोजना सञ्चालन गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । विकास निर्माणका कामसँगै स्थानीयस्तरमा रोजगार सिर्जनालाई आफूहरुले प्राथमिकता दिएको नगर प्रमुख भुसालले बताए ।

उनका अनुसार यी आयोजनामा खर्च हुने रकमको ५० प्रतिशत अर्थात् रु छ करोड ३० लाख यसमा काम गर्ने कामदारले ज्यालाबापत प्राप्त गर्नेछन् । यसले यस आयोजनामा काम गर्नेको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।