नेकपा एकिकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ ।

दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो ।

त्यसैगरी बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ । उपाध्यक्ष पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुन् ।

प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान भएपछि संसदीय दलको नेतृत्व छनोट गरिएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्थामा सामाजिक रूपान्तरणका साथै जनअधिकार स्थापित गर्न पार्टीलाई गतिशील बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान गरेको पार्टीले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।