सत्तागठबन्धन दलको बैठक पुनः बस्ने


     एभरेस्ट आवाज    
     पौष १० गते २०७९ मा प्रकाशित





प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने उनको भनाइ थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेका एक साताको समय आज सकिँदैछ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास जारी राखेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेका थिए । गठबन्धन दलले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।