गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालबाट बाँकी ५९ सदस्यले लिए शपथ


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित




कास्की । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिएका थिए ।

उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्‌मा ५ दलको सहभागिता रहनेछ ।

२७ सिट ल्याएको नेपाली कांग्रेस संसद्‌मा सबैभन्दा ठूलो दलको रूपमा सहभागी हुनेछ । कांग्रेस ठूलो दल भए पनि प्रतिपक्षमा रहने निश्चितजस्तै छ । यसैगरी, २२ सिट ल्याएको एमाले दोस्रो स्थानमा रहेको छ भने ८ सिट ल्याएर माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

समानुपातिक प्रणालीबाट २ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चुनाव जितेका दीपक मनाङे प्रवेश गरेसँगै एकीकृत समाजवादी पनि संसद्‌मा प्रवेश गरेको छ । त्यस्तै प्रदेश प्रमुख गुरूङले १८ गते संसद्‌को पहिलो बैठक आह्वान गरेका छन् ।

केन्द्रको नयाँ गठबन्धनसँग गण्डकीमा पनि सरकार बनाउने बहुमत पुग्छ । गण्डकीमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । यस्तै सरकारको नेतृत्व कसले लिने भनेर एमाले र माओवादीले आ-आफ्नो दाबी गरेका छन् । एमालेबाट दलका नेता खगराज अधिकारी र माओवादीबाट हरिबहादुर चुमान मुख्यमन्त्रीको दाबेदार हुन् ।

समृद्धि र विकास नै प्राथमिकतामा

शपथग्रहणपछि सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धि र विकास नै आफूहरूको प्राथमिकतामा रहेको बताए । सबै तहका सरकारको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उहाँले यी निकायबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए ।

सदस्य डिल्लीराम सुवेदीले विद्यार्थी आन्दोलनको स्मरण गर्दै आफू सडक आन्दोलनको मोर्चाबाट सदनमा आएको चर्चा गरे । शपथसँगै प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारी थपिएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास दिलाए।

सदस्य सरस्वती गुरुङले प्रदेशसभामा नयाँ उत्साहका साथ आएको उल्लेख गर्दै गण्डकीको समुन्नतिका लागि आफ्नोतर्फबाट प्रयास बढाउने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।