पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् ।
तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् ।
यद्यपि हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले ध्यान दिएर पर्यटकीय गतिविधि बढाउन सकेमा लेखनाथको समग्र विकासमा भूमिका खेल्ने विश्वास लेखनाथबासीको छ ।
उनका अनुसार पहिले सञ्चालित विमानस्थलबाट लेकसाइड नजिक पर्दथ्यो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड र लेखनाथको बेगनास तालसम्मको दूरी उस्तै भएकाले पर्यटक लेखनाथसम्म आउने अपेक्षा गरिएको छ ।
लेखनाथमा रहेका रुपा, वेगनास, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी जस्ता रमणीय तालका साथै यहाँबाट आठ हजार मिटरभन्दा अग्ला धौलागिरि, अन्नपूर्ण, मनास्लु जस्ता हिमश्रृंखलाहरु देख्न सकिन्छ । त्यति मात्रै होइन, प्रिन्स चार्ल्स ल्र्स रोयल ट्रेक , चरा पर्यटन, लेखनाथको जन्मस्थल अर्घौ अर्चले, पचभैया, देउराली, चिडियाखाना, वराह क्षेत्र जस्ता निकै महत्व बोकेका पर्यटकीय गन्तव्यसँगै सुन्दर दृश्यवलोकन गर्न सकिने यस क्षेत्रको विकासमा तीनै तहको सरकारले जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ ।
विसं २०३७ मा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि यो बाटो रोयल ट्रेकका रूपमा चर्चित भए पनि यसको प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ । विमानस्थल सञ्चालनसँगै लेखनाथ आसपासको ग्रामीण पर्यटन प्रवद्र्धन पनि गर्न सकिने उनको भनाइ छ ।
लेखनाथ विकास मञ्चका संयोजक एवम सामाजिक अभियन्ता सन्दीप पौडेल साविक लेखनाथलाई पोखरासँग जोडेर महानगर बनाउँदा विकासका धेरै आश्वासन पाएको तर पछिल्लो समय विजयपुर खोला वारीका समस्यामा नेतृत्वले कहिल्यै ध्यान नदिएको गुनासो गरे ।
साथै तालचोक–बेगनास तालसम्म पर्ने बाटोको दुराबस्थाले पनि पर्यटकलाई सास्ती भएको, पूर्वाधार विकासको अभावमा यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको र पर्यटकको बसाइ लम्बाउने गतिविधि हुन नसकेको गुनासो गरे ।
उनका अनुसार बिदाका दिन तीन हजारदेखि पाँच हजारसम्म र सामान्य दिनमा एक हजारको हाराहारीमा बेगनास र रुपा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने भएपनि बेलुका भने पोखरा नै फर्कने गरेका छन् ।
जग्गाको मुआब्जा दिने गरी रुपातालमा बाँध बाँधेर करिब रू ६ अर्बको वृहत परियोजना एकीकृत रुपाताल विकास समितिमार्फत् भइरहेको र करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको पनि उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तत्काल केही समस्या देखिए पनि यसको समाधानसँगै समग्र पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकास हुनेमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले विश्वास व्यक्त गरे ।
उनले विमानस्थल सञ्चालनमा आएसँगै सार्क राष्ट्रका साथै चीनका दक्षिण भेगका शहर, थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता गन्तव्यमा न्यारो बडी विमानमार्फत् जोड्न सकिने र यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथको पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
उनले विजयपुल विस्तारसँगै पोखरा मुग्लिङ सडक खण्ड विस्तार, सातताल जोड्ने सहज पहुँचमार्ग तत्काल आवश्यकता र विकासमा साझेदारीता आवश्यकता रहने भएकाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिए निजी क्षेत्र लगानी गर्न तयार र उत्साहित रहेको बताए ।
आत्रेयले पछिल्लो समय बेगनासताल किनारको माझीकुना साथै रुपा तालमाथिको झोलुङ्गे पुल, सुन्दरी डाँडा र पचभैया, बराह क्षेत्र पर्यटकको रोजाइमा परेकाले यस्तै पूर्वाधार विकास गरेर पर्यटकलाई थप आकर्षित गर्न सकिने बताए ।
पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सङ्घले वर्षेनि महोत्सव गर्दै आएको पनि जानकारी दिए । उनले पोखरा शहरमा शहरीकरणसँगै ट्राफिक जाम निकै बढ्दै गएकाले अब प्राकृतिक शान्त वातावरण चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि लेखनाथ एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त समेत व्यक्त गरे ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







