शहीद सप्ताको पहिलो दिन शास्त्रीको सम्झना


     एभरेस्ट आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित




शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु¥याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उनको योगदानको स्मरण गरे ।

विसं १९५०मा बनासरमा जन्मनुभएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गरेका थिए। धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ । कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उनीहरुले साहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ । विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।