पर्याप्त बजेट विनियोजन नहुदा वडा भित्रको समस्या सम्वोधन गर्न चुनौती छ: वडाध्यक्ष घर्तीमगर


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर,बागलुङ । गत बैशाख ३० गतेको स्थानिय चुनावबाट निर्वाचन भैसकेपछि विभिन्न स्थानका जनप्रतिनीधिहरुले आफ्नो क्षेत्रका विकासे योजनाहरु कसरी अगाडी बढाउने भन्दै दौडधुपमा रहेका छन् ।

वडा कार्यलयःनिसीखोला ५

केन्द्र सरकारबाट विनियोजन भएका सिमित बजेटबाट वडा भित्रका विभिन्न दिगो विकासका योजनाहरु सम्बोधन गर्न जनप्रतिनीधिहरुलाई चुनौती समेत रहेको छ ।

हालसम्म बजेटले भ्याएसम्म वडा भित्रका सिमित आवश्यकताहरु मात्रै सम्वोधन भैरहेको बागलुङको निसीखोला गाउँपालिका वडा ५ का वडाध्यक्ष हर्कमन घर्तीमगरले बताए ।

“स्थानिय सरकारकारलाई विनियोजन भएको बजेटका शिर्षक अनुरुप हामीले कार्यसम्पादन गर्दैछौ । कार्यसम्पादन गर्ने क्रममा कतिपय सम्वोधन गर्नुपर्ने समस्याहरु छुटिरहेका छन्,”वडाध्यक्ष घर्तीमगरले भने,“दिगो विकासका क्षेत्रमा बजेटकै अभावले सिमित समस्याहरु समाधान गर्नेक्रम जारी छ ।”

दुईपटक वडाध्यक्ष बनेका घर्र्तीमगरले सुरुको कार्यकाल अभ्यास र प्रकृयामै अलमल परेपनि सोहि अनुभाव र जाँगरका साथ दोस्रो कार्यकाललाई अर्थपुर्ण बनाउन लागि परेको बताए ।

वडा भित्रका नागरिकका अत्यावश्कीय समस्याहरु शिक्षा,स्वास्थ्य,खेलकुद,सडक,कृषि,गरिब तथा विपन्न वर्ग,दलित समुदाय,महिला तथा बालबालिका ,अपांगता भएका व्यक्ति, बृद्धबृद्धाहरुको समस्या सम्बोधन गरिनुका साथै पर्यटन प्रवद्धनमा युवा स्वरोजगार लगाएतका कार्यक्रमहरु प्रभावकारी ढंगले अगाडी बढाउने योजना रहेको उनले सुनाए ।

यी समस्या सम्वोधनका लागि स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि आवश्यकताका आधारमा नीतिगत पहल गरेर समाधानका प्रयास खोजिने वडाध्यक्ष घर्तीमगरले प्रतिवद्धता व्यक्त गरे ।

आफ्नो अघिल्लो कार्यकालमा अनुदानमा जग्गा खरिद गरि वडा कार्यलय स्थापना हुनु र प्रहरी चाौकीको भवन व्यवस्थापनको लागि जग्गा खरिद गरि प्रकृयामा रहनु,स्वास्थ्य कार्यलयको भवन निर्माणका लागि जग्गा प्राप्ति गर्नु,२०÷२५ किलोमिटर नयाँ ट्रयाकका रुपमा सडक निर्माण गरिएको,वडा कार्यलयको समन्वयमा वडाभित्रका विभिन्न विद्यालयका भौतिक निर्माण देखि लिएर गाउँपालिकासंग समन्वय गरेर कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरिएको उनले बताए ।

आर्थिक पक्ष मुख्य चुनौतीको विषय भएको बताउदै उनले अनुदानमा जग्गा उपलव्ध नभएकोले वडा स्तरिय खेलकुद मैदानहरु निर्माण गर्न नसकिएको ,पर्यटकीय ठाउँहरुको पहिचान र प्रवद्धन गर्न नसकिएको,स्थानिय उत्पादनको खोज गरि आयआर्जनसंग जोड्न नसकिएको स्विकार गर्दै हालसम्म जग्गा प्राप्त भएपनि प्रहरीचौकी र स्वास्थ्य चौकीको भवन निर्माणमा चुनौति रहेको बताए ।

“वडा न ५ कृषि पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएका कला,खाद्यवस्तु लगाएतका उत्पादनलाई बजारीकरण गरि आयआर्जनसंग जोडन सकिएको छैन् । खेलकुदका क्षेत्रमा भौतिक पुर्वाधारहरु निर्माण गर्न सकिएको छैन्, रोल्पा,प्युठान र बागलुङको सिमानामा रहेको कोठिभिर जुन पर्यटकिय सम्भावना बोकेको स्थान हो वडा नं. ५ भित्रै पर्छ त्यसलाई प्रवद्धन गर्न सकिएको छैन्”,वडाध्यक्ष घर्तीमगरले भने, “यी सवैसंग जोडिन्छ बजेट, त्यो हामीसंग पर्याप्त छैन् ।”

अवको कार्यकालमा वडाको क्षेत्राधिकार भित्र परेको विभिन्न क्षेत्रको भौतिक विकास र अनुगमन गरि वडाबाट प्रवाह हुने सम्पुर्ण सेवा पारदर्शी बनाईने उनले बताए । साथै बजेटमा नपरेका तर वडा भित्रका दिगो विकासका योजनाहरुलाई वडाले केन्द्रमा पहल गरि योजनाहरु सफल बनाउने लक्ष्य समेत रहेको उनले बताए ।

२४४.३७ वर्ग किलोमिटरमा फैलिएको निसीखोला गाउँपालिका अन्तर्गत वडा नं. ५ करिव ४७.७२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । आफ्नै कला संस्कृतिले भरिपुर्ण वडा नं. ५ जहाँ आदिवासी जनजातिको बाहुल्यतासंगै दलित समुदाय र छिटफुट रुपमा ब्राम्हनक्षेत्रीको बसोबास रहेको छ ।

वडा नं. ५मा २ हजार ८७ पुरुष,२ हजार १ सय २७ महिला गरि कुल ४ हजार २ सय १४ जनसंख्या बसोबास गर्दछन् भने कुल धरधुरी ८ सय ४९ रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।