पोखरा । गण्डकी प्रदेशमा सवारी दुर्घटना सामान्य घटेको छ । गण्डकी प्रदेशमा २०७७÷७८ मा भन्दा २०७८÷७९ मा सवारी दुर्घटना झिनो रुपमा घटेको हो । गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना तीन प्रतिशतले घटेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार गण्डकी प्रदेशमा २०७७ साल माघ १ गतेदेखि २०७८ साल पुस मसान्त सम्ममा ४१५ वटा सवारी दुर्घटना भएका थिए । तर २०७८ साल माघ १ गतेदेखि २०७९ साल पुस मसान्त सम्ममा ४०२ वटा मात्र सवारी दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
दुर्घटना घटेसँगै दुर्घटनाबाट ज्यान जानेको संख्यापनि घटेको ट्राफिक प्रहरीको भनाई छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाबाट मृत्यू हुनेको संख्या १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २०७८ माघ १ गतेदेखि २०७९ साल पुस मसान्तसम्ममा सवारी दुर्घटनामा २५१ जनाले ज्यान गुमाएका थिए । तर २०७८ साल माघ १ गतेदेखि २०७९ साल पुस मसान्त सम्ममा २१३ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाईते हुनेको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ३९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सवारी दुर्घटनामा २७४ जना गम्भीर घाईते भएकोमा यस वर्ष ३८१ जना गम्भीर घाईते भएका छन् । त्यस्तै, सामान्य घाईतेको संख्या भने ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २७० जना सामान्य घाईते भएकोमा यस वर्ष २४५ जना सामान्य घाईते भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले अघिल्लो वर्षको तुलनामा यस वर्ष ६९ प्रतिशत राजश्व बढी संकलन गरेको जनाएको छ । गण्डकी प्रदेश ट्राफिक कार्यालयले अघिल्लो वर्ष १ लाख ३३ हजार ८ सय ६४ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ८७ लाख २ हजार रुपैयाँ संकलन गरेकोमा यस वर्ष २ लाख २५ हजार ५ सय ६३ वटा सवारी साधनलाई कारवाही गर्दा १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ संकलन गरेको जनाइएको छ ।
ट्राफिक प्रहरीको सकृयताका कारण दुर्घटना संख्या र मृतक संख्या घटेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्र्तक्रिया कार्यक्रम, कृतिम सडक दुर्घटना उद्दार तथा व्यवस्थापन सिमुलेसन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङलगायतका अभियान सञ्चालन गरेपछि दुर्घटना घटेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







