माघ २६ पोखरा । पोखराको लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी भएको हो ।तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहितामा भने बाँधिनु पर्नेछ । चौविसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रोहवरमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेर आचारसंहिता बनाईने बताइएको छ ।
लेकसाईडका पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने गरेर दुःख दिदा व्यवसाय चौपट भयो भन्दै मुख्यमन्त्री खगराज अधिकारी समक्ष गुनासो गरेका थिए । पटक/पटकको गुनासोपछि मुख्यमन्त्री अधिकारीले कार्यक्रम स्थलबाटै सिडिओ टेकबहादुर केसी र एसपी अजय केसीलाई फोन गरेर लेकसाईडका व्यवसाय चौविसै घण्टा खोल्ने वातावरण बनाउन निर्देशन दिएका थिए । माघ २१ गते पोखरा पर्यटन परिषदको कार्यक्रम स्थलबाट फोन गरेर पहिलोपटक दिएको निर्देशन कार्यान्वयन नभएपछि मुख्यमन्त्री अधिकारीले विहीबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को कार्यक्रम स्थलबाटै एसपी र सिडिओलाई पुनः फोन गरेर निर्देशन दिए । लगत्तै उनले पर्यटन व्यवसायीहरुलाई छलफलका लागि आफूले पठाउने भन्दै उनीहरुका माग सम्बोधन गर्नपनि भने ।
मुख्यमन्त्रीको निर्देशनपछि पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठसहितको पर्यटन व्यवसायीको टोली आईतबार एसपीलाई भेट्न पुगेको थियो । भेटमा एसपी अजय केसीले आचारसंहिता बनाएर मात्रै चौविसै घण्टा खोल्न दिनसकिने बताएका थिए । त्यसका लागि सर्वदलीय÷सर्वपक्षीय बैठक बसेर निर्णय गर्नुपर्ने उनको भनाई थियो ।
त्यसलगत्तै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले सिडिओ केसीलाई सर्वदलीय/सर्वपक्षीय बैठक बस्नका लागि समय मागेका थिए । मुख्यमन्त्रीको फोनका कारण पहिल्यै अपडेट भएर बसेका सिडिओ केसीले तुरुन्तै हुन्छ भनेपछि सर्वदलीय/सर्वपक्षीय बैठकको समय तय भएको थियो ।
पर्यटन व्यवसायीलाई एसपी केसीले व्यवसायमा अवरोध गर्ने प्रहरीको नियत नभएको प्रष्ट्याएका थिए । उनले आचारसंहितामा बाँधिएर व्यवसाय गर्नेलाई बाधा अवरोध नगरेको र आगामी दिनमापनि नगर्ने बताएका थिए । हामी जनताको सेवा र सुरक्षाका लागि खटिएका हौं,उनले भने,‘जनतालाई शान्ति सुरक्षा दिने र अमनचयनका साथ बाँच्नसक्ने वातावरण बनाउने जिम्मेवारीमा हामी डटिरहनेछौं ।’ तर व्यवसायपनि आचारसंहितामा बाँधिएर मर्यादित तरिकाले चल्नुपर्ने उनको भनाई थियो । उनले थपे,‘चौविसै घण्टा खुल्ला गर्नुपर्छ भनेरमात्र हुँदैन । व्यवसायपनि अनुशासित र मर्यादित रुपमा चल्नुपर्छ ।’ मर्यादित रुपमा नचलेकालाई मात्र बन्द गराउनेगरेको उनको आसय थियो । उनले कसैको फोन आयो भन्दैमा जनताको सुरक्षामा असर पर्नेगरी व्यवसाय खुल्ला गर्न नसक्ने जवाफसमेत दिएका छन् । ‘कसैको फोनले डगमगाउने कुरा भएन । जनताले पनि त सुरक्षित महशुष गर्नुप¥यो नि ! ’–उनले भने ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले एसपीसँगको भेट सकारात्मक भएकाले चाँडै लेकसाईड चौविसै घण्टा खुल्ने वातावरण बन्नेमा आशावादी भएको बताए । एसपीलाई आफूहरुले आग्रह गरेको कुरा उद्धृत गर्दै अध्यक्ष श्रेष्ठले भने,‘सुरक्षाको दृष्टिकोणबाट के–के मिलाउनु पर्ने हो मिलाउनुस् तर खोल्न पाउनुप¥यो’ भन्यौं ।’ उनले बाहिरबाट आएका पर्यटकलाई पोखरा खुल्ला छ, शान्त छ, सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टीकाराम सापकोटाले लेकसाईड चौविसै घण्टा खोल्न प्रहरी प्रशासन सकारात्मक पाएको बताए । ‘सर्वदलीय÷सर्वपक्षीय बैठकपछि आचारसंहिता बनाएर चौविसै घण्टा खोल्ने वातावरण बन्छ भन्ने लाग्छ’–उनले भने ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष हरि भुजेलले दश/एघार नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्दा पर्यटकमा नराम्रो सन्देश गएको बताए । अझ पछिल्लो समय लेकसाईडमै ट्राफिक चेकिङ गर्दा पर्यटकहरु आतंकित भएकाले त्यसको समाधानका लागि मुख्यमन्त्री गुहार्नुपरेको उनको भनाई थियो । ‘पर्यटनमा बल्ल सुधारको संकेत देखिन थालेको छ । यहिबेला दश/एघार नबज्दै बन्द गर्न उर्दी जारी गर्ने, खान बसेका पर्यटकलाई ह्यारेसमेन्ट गर्ने, पर्यटक होटलमा छिर्न नपाउँदै होटल बन्द गर्दा खाना खानपनि नपाई बन्द गर्नुपर्नेजस्ता हर्कतले पर्यटनमा नराम्रो असर गरेको छ । त्यसको अन्त्य गर्न सर्वपक्षीय÷सर्वदलीय बैठक निर्णायक हुने अपेक्षा आफूहरुले गरेको उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







