सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित रु १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए । उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ ।

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताए । मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिए । उनका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम खडक निर्माणको काम भइरहेको छ ।

करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।