पोखरा । सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर उक्त केन्द्र निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिएको छ ।
खुल्ला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुल्ला गरिएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए। उनका अनुसार केन्द्र अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ ।
पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थीहरू उक्त केन्द्र अवलोकनका लागि आउने गरेको उनले बताए । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, बन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयूर, कछुवालगायत २३ प्रजातिका वन्यजन्तु तथा पन्छीहरू अवलोकन गर्न पाउने छन् । वन्यजन्तु अवलोकनसँगै यस क्षेत्रका विभिन्न धार्मिक एवम् सांस्कृतिकस्थल संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको अध्यक्ष ढकालको भनाइ थियो ।
“खुल्ला चिडिायाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवम् धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलीे पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने सम्भावना छ ।” सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचारप्रसार हुन सकेको छैन । धार्मिक महत्वको बज्रमुष्ठी मन्दिरसँगै देबनाथ बाबाले सिद्धि प्राप्त गरेको भूसनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको अध्यक्ष ढकालले बताए ।
स्थानीयवासीले यसै क्षेत्रमा प्राचीन कालदेखि रहेको प्राकृतिक तोरी पोल्ने कोल पनि संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच २०६७ सालदेखि सुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवम् अभियन्ता हिमालय बख्रेलले बताए । क्लबको पहल एवम् स्थानीयवासीको सक्रियतामा यसको निर्माण कार्य अघि सञ्चालनको अवस्थासम्म आउनु आफैँमा महत्वपूर्ण रहेको उनको भनाइ थियो । चिडियाखाना २०७२ साल साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए।
युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याइएको अभियन्ता बख्रेलले जानकारी दिए । केन्द्र परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् । केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने स्थानीयवासीको विश्वास छ ।
पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताए ।
पर्यटकलाई लक्ष्य गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्युटावर र रुपाताल जाने पदमार्ग रु १५÷१५ लाखको लागतमा निर्माण गरिएको उनले बताए । केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख छुट्याइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।
उनका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिङ्क रोडका भत्किएका बाटो मर्मत, जनावर राख्ने केजहरू निर्माण, डाटिङ गर्ने उपकरण खरिद आदि काम गरिएको उनले जानकारी दिए । यस वर्ष केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ । केन्द्र सञ्चालनका लागि एक व्यवस्थापकसहित तीन सहयोगी कर्मचारी राखिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







