दुर्घटना ग्रस्त बसलाई के्रनको साहायताले निकालिदै । तस्विर : सन्दिप पौडेलको फेसबुकबाट
पोखरा । पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।
घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
घाइतेमध्ये दुई/दुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । चिकित्सका अनुसार घाइतेहरूको हातखुट्टामा चोटपटक लागेको छ ।
बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक (गाउन) लिएर फर्कँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







