राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए ।

शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उनले पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चारमाध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गरे ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै उनले कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पारे ।

अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रित रहेको बताए । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उनले छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।