सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री दाहाल


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । “यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ”, उनले भने ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।