गण्डकीका पोखरासहित सहर र गाउँ दुबैमा प्रहरीले गस्ती बढाउने


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन १५

प्रहरीले गण्डकी प्रदेशका सहर र गाउँ दुबैमा गस्ती बढाउने भएको छ । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रहरीले गण्डकीको राजधानी पोखरासहित सहर र गाउँमा गस्ती बढाउन लागेको हो । गण्डकी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय र अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँगको सुरक्षा छलफललाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले भने,‘जनताको शान्ति सुरक्षा र अमनचयन कायम गर्न ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउनु ।’

भिडियो कन्फरेन्समार्फत गरिएको छलफलमा बोल्दै एआईजीपी गुरुङले लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी न्यूनिकरण, साईबर क्राईम, सडक सुरक्षा लगायतका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । ‘समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति देखिने गरी बनाएको गस्ति योजना अनुरुप ग्रामिण र सहरी गस्तिलाई बढावा दिन म निर्देशन दिन्छु’–उनले भने ।

एआईजीपी गुरुङले प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यबस्थापनमा नचुक्न कार्यालय प्रमुखहरुलाई निर्देशनपनि दिए । उनले गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी मिडिया सम्बन्ध निर्माण गर्नपनि सुझाव दिए । प्रहरी नायव महानिरीक्षक गुरुङले मातहतका प्रहरी कर्मचारीहरुको गुनासोलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफुबाट सम्बोधन नहुने गुनासो माथिल्लो तहमा जानकारी गराउने उल्लेख गरे ।

सो अवसरमा जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवम् समाधानका विषयमा उनले कार्यालय प्रमुखहरुबाट जानकारी लिएका थिए । छलफलमा प्रदेश प्रहरी कार्यालय मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।