राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित




राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनले केहीबेर अघि मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताए । उनले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उनले प्रतिबद्धता जनाए ।

उनले भने, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र नेकपा (एमाले) का नेम्वाङ प्रतिस्पर्धामा छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।